योभन्दा उच्चस्तरको व्यवस्था ल्याउन प्रचार प्रसार र जनाधार तयार पार्दै जानुपर्छ

  supreme-post
  ९ बैशाख २०७८, बिहीबार ०७:२२

राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनद्वारा महासचिवमा निर्वाचित हुनुभएको छ । यो सुखद अवस्थामा कस्तो अनुभूति भइरहेको छ ?
सर्वप्रथम म २०५५ वैशाख १ गते राष्ट्रिय जनमोर्चाको बुटवलमा भएको राष्ट्रिय भेलाबाट केन्द्रीय समितिको सदस्यको रूपमा निर्वाचित भएको हुँ । त्यसपछि लगातार अहिलेसम्म अर्थात् झण्डै २२ वर्षदेखि राष्ट्रिय जनमोर्चाको केन्द्रीय सदस्य, उपाध्यक्ष, कोषाध्यक्ष तथा केन्द्रीय कार्यालयको सचिवजस्तो पदमा बसेर संगठनले दिएको भूमिका सक्रियताका साथ पूरा गर्दै आइरहेको छु । चौथो राष्ट्रिय सम्मेलनमा थपिएको जिम्मेवारी त्यसैको निरन्तरता हो । त्यसैले महासचिवको पदमा निर्वाचित हुँदा त्यस्तो बेग्लै अनुभूति भएको छैन । तर पनि पहिलेको भन्दा जिम्मेवारी झन् थपिएको छ । कुनै घटनाविशेषले तुरुन्तै तरंगित भइहाल्ने मेरो स्वभाव पनि छैन ।

नेकपा (मसाल) को राजनीतितर्फ कसरी आकर्षित हुनुभयो ?
मैले १ देखि १० कक्षा (एसएलसी) सम्मको अध्ययन भारतको मुम्बईबाट गरेको हुँ । मुम्बईमा माध्यमिक तहसम्मको अध्ययन पूरा गरिसकेपछि मैले नेपाल फर्किने योजना बनाएँ । मेरो पिताजीले त्यसमा सहमति दिनुभयो । नेपाल आएपछि सुरुमा काठमाडौँको नेपाल ल क्याम्पसमा भर्ना लिएँ । डोटीबाट काठमाडौँ आउनजान त्यस बेला निकै टाढा पथ्र्यो । डोटीबाट हिँडेर धनगढी आउनुपर्ने र धनगढीबाट भारतको बाटो भएर नेपालगञ्ज वा वीरगञ्ज भएर काठमाडौँ पुग्नुपर्ने बाध्यता थियो । त्यसैले केही समयपछि मैले नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा स्थानान्तरण गरेँ र नेपालगञ्ज पढन थालेँ ।

म सानैदेखि भारत बसेँ, त्यही हुर्कें र पढेँ । नेपालको राजनीतिक अवस्थाबारे म पूर्णतया अनभिज्ञ थिएँ, जुन स्वाभाविक पनि हो । त्यसमा पनि अझ म जसरी भए पनि पढ्नुपर्छ, नोकरी गरेर बाआमाका सपना पूरा गर्नुपर्छ भन्ने उद्देश्यका साथ म नेपाल आएको थिएँ । अध्ययनको क्रममा मेरो प्युठान, दैलेख र पाल्पाका विद्यार्थी साथीहरूसँग संगत हुन थाल्यो । उहाँहरू नेकपा (मसाल) को विद्यार्थी संगठनमा काम गर्नुहुँदो रहेछ भन्ने कुरा मलाई सुरुमा थाह थिएन, पछि मात्र थाह पाएँ । विस्तारै उहाँहरूले मलाई प्रकाशन पनि उपलब्ध गराउन थाल्नुभयो । राजनीतिसँग सम्बन्धित प्रकाशनको अध्ययनले ममा राजनीतिप्रति रुचि जगाउन मद्दत ग-यो । राष्ट्रिय जनमोर्चाका सल्लाहकार लोकेन्द्र लम्साल त्यस बेला विद्यार्थी संगठनको केन्द्रीय सदस्य हुनुहन्थ्यो । उहाँ विद्यार्थी संगठनको बैठकमा सहभागी भएर धनगढी फर्किने क्रममा आफन्तलाई भेट्न नेपालगञ्ज आउनुभएको थियो । उहाँको आफन्त र मसँगै एउटै डेरामा बस्थ्यौँ । कारणवश त्यस दिन लोकेन्द्रजी हाम्रो डेरामा आउनुभएन । तर एउटा हस्तलिखित चिठी छोड्नुभएको रहेछ । त्यो चिठी मुख्यतयाः संगठन र राजनीतिमा केन्द्रित थियो । लोकेन्द्रजीलाई प्रत्यक्ष भेटन नपाए पनि त्यो चिठीले पनि राजनीतिमा लाग्न मलाई पे्ररित ग¥यो । म विस्तारै सांगठनिक गतिविधिमा सहभागी हुन थालेँ । त्यसै क्रममा २०४६ भाद्र महिनामा नेपालगञ्जको एउटा गाउँमा अखिल (छैठौंं) को क्याम्पसस्तरीय भेला गोप्य रूपमा भयो । त्यो भेलामा मलाई पनि सहभागी गराइएको थियो । भेलाबाट म कोषाध्यक्षको पदमा चयन भएँ । यसरी म नेकपा (मसाल) को राजनीतिप्रति आकर्षित भएको हुँ ।

राष्ट्रिय जनमोर्चाको महासचिव हुनुभन्दा पहिला के–कस्ता जिम्मेवारी सम्हाल्नुभयो ?
२०४६ भाद्र महिनामा नेपालगञ्जको एउटा गाउँमा अखिल (छैठौं) को क्याम्पसस्तरीय भेला गोप्य रूपमा भएको थियो । भेलाबाट म कोषाध्यक्षको पदमा चयन भए । २०४६ फागुनमा भएको बाँकेको जिल्ला भेलाबाट जिल्ला सदस्य, २०४७ वैशाख महिनामा भएको अखिल (छैठौं) बाँकेको पाँचौँ जिल्ला सम्मेलनबाट अध्यक्ष, २०४७ सालको जेठमा भएको भेरी–कर्णाली–राप्तीस्तरीय क्षेत्रीय भेलाबाट क्षेत्रीय समितिको सदस्य, २०४८ असोज १५, १६ र १७ गते चितवनमा बसेको बैठकबाट केन्द्रीय सदस्यमा पदपूर्ति, २०४८ पौष २८, २९ र ३० गते बुटवलमा सम्पन्न विस्तारित बैठकबाट पुनः केन्द्रीय सदस्य, २०४९ मङ्सिर १, २ र ३ गते बुटवलमा सम्पन्न बाह्रौँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सचिवमा निर्वाचित, २०५२ कार्तिकमा राष्ट्रिय जनमोर्चा बाँकेको प्रथम जिल्ला भेलाबाट अध्यक्ष, २०५५ वैशाख १ गते राष्ट्रिय जनमोर्चाको बुटवलमा भएको राष्ट्रिय भेलाबाट केन्द्रीय समितिको सदस्य, २०५६ कार्तिक २८, २९ र ३० बुटवलमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०५९ सालमा संयुक्त जनमोर्चा र राष्ट्रिय जनमोर्चा एकीकरण भई निर्माण भएको जनमोर्चा नेपालको केन्द्रीय समितिको उपाध्यक्ष, जनमोर्चा नेपालमा फुट आएपछि २०६३ जेठमा पुनस्र्थापित राष्ट्रिय जनमोर्चाको बुटवलमा सम्पन्न राष्ट्रिय भेलाबाट पुनः उपाध्यक्ष, २०६८ वैशाख १३ देखि १५ गतेसम्म पोखरामा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनबाट कोषाध्यक्षमा चयन हुनुका साथै केन्द्रीय कार्यालयको सचिवमा नियुक्ति भएँ ।

२०७० सालको संविधान सभाको दोस्रो चुनावलाई ध्यानमा राखेर कार्यालय सचिवबाट सुदूर पश्चिम सरुवा, २०७० चैत्र ४ देखि ६ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले अन्य जिम्मेवारीका कारण कोषाध्यक्षबाट हटाई केन्द्रीय सदस्यको जिम्मेवारी कायम गरियो । २०७२ असोजमा पार्टी तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी भयो । का. चित्रबहादुर केसी उपप्रधान तथा सहकारी मन्त्री हुनुभयो । उहाँको सचिवालय प्रमुखको जिम्मेवारीमा पार्टीले मलाई खटाएको थियो । २०७२ फागुन ७ देखि ९ गतेसम्म बुटवलमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा तथा अहिलेको चौथो राष्ट्रिय सम्मेलनबाट महासचिवमा निर्वाचित भएको छु । यसरी २०४६ सालदेखि नै विभिन्न पदमा रहेर संगठनको जिम्मेवारी पूरा गर्दै आएको छु ।

तपाईंको राजनीतिक यात्रामा घरपरिवारको रवैया कस्तो रह्यो ? यस सन्दर्भका केही स्मरणीय पक्ष छन् कि ?
मेरो राजनीतिक यात्रामा सधैँभरि घरपरिवारको प्रत्यक्ष साथ र सहयोग रहिआएको छ । मेरो बाआमाले कहिल्यै पनि राजनीति छोडेर आर्थिक उपार्जनमा लाग्न दबाब दिनुभएन । वृद्धावस्थामा पनि बुबाले नै घरको सम्पूर्ण खर्चको व्यवस्थापन गर्नुहुन्थ्यो । बुबाको निधनपछि मेरो पत्नी गीताले नै सम्पूर्ण व्यवस्थापन गरेकी छिन् । मलाई कहिल्यै पनि घरायसी समस्यामा अल्झिनुपरेको छैन । गीताले अहिलेसम्म मबाट कुनै प्रकारको मागका लागि दबाब दिएको मलाई थाह छैन । मेरो राजनीतिक यात्रामा दुई वटा घटना स्मरणीय छन् । मेरो पिताको निधन भएको दिन उहाँको शव दाहसंस्कारका लागि घाटमा लैजान राखिएको थियो । झण्डै ७००÷८०० मलामी भेला भइसकेका थिए । शव उठाउने बेला धार्मिक मान्यतानुसार पिण्ड दिनुपर्छ भनियो । मैले परम्रागत रूपमा काजक्रिया नगर्ने बताइसकेको थिएँ । पिण्ड नदिई कसरी शव उठाउने ? विवाद हुन थाल्यो । यदि आमाले मेरो कदमलाई सर्मथन नगरेको भए मलाई अप्ठ्यारो पथ्र्यो । तर आमाको मलाई साथ रह्यो । यो घटना मेरा लागि अविश्मरणीय छ ।

त्यसैगरी, मेरो छोरा अध्ययनको सिलसिलामा विदेशमा छ । पढाइ खर्च जुटाउनका लागि उनले त्यहाँ अन्य विद्यार्थी झैँ निकै परिश्रम गर्नुपरेको छ । एक दिन बाबुसँग भिडियोमा कुरा हुँदा होटलमा लगातार काम गर्नुपरेका कारण हातका औँलाका गाँठा सबै काला परेको देखेँ । त्यस्तो अवस्थामा पनि उसलाई मैले लेखेको पुस्तक “नेपाल–भारत सम्बन्ध” बाबाले कसरी प्रकाशन गर्नुहुन्छ भन्ने चिन्ता रहेछ । सुरेश थापा र रामप्रकाश पुरीजीले पुस्तक चाँडै प्रकाशन गर्नुपर्छ भनेर अत्याइराख्नुभएको थियो । पुस्तकको सम्पूर्ण काम पूरा भएर प्रेसमा जाँदासम्म पनि त्यसमा लाग्ने रकम कसरी जुटाउने ? कुनै टुंगो थिएन । प्रकाशकमा गीताको नाम लेखेको भए पनि घरायसी जिम्मेवारी सम्पूर्ण रूपमा उनको काँधमा भएकाले पुस्तक प्रकाशनको बोझ पनि थप्ने कुरा मेरो मनले मानिरहेको थिएन । काठमाडौँ प्रेसमा पुस्तक दिएर म धनगढी आएँ । धनगढी पुगेको दिन बेलुका बाबुसँग कुरा गर्न अनलाइनमा जोडिएँ । जोडिनासाथ बाबुले मलाई पुस्तक प्रकाशनका लागि कति पैसा लाग्ने भयो, पैसा कसरी जुटाउने योजना बनाउनुभएको छ भनेर सोध्यो । पुस्तक प्रकाशनमा लाग्ने रकम बताए तर त्यो रकम कसरी जुटाउने कुनै निश्चित छैन भनेर जवाफ फर्काएँ । बाबुले मसँग केही कुरा नै नगरी अफलाइनमा गयो । केही बेरपछि जोडियो र भन्यो– पुस्तक प्रकाशनका लागि तपाईंको खातामा मैले १,२५० अस्ट्रेलियन डलर भर्खर पठाइदिएको छु ड्याडी । बाबुले पढ्नका लागि अरूका भाँडा माझेर जुटाएको रकमलाई पठाएको देख्दा कता कता लज्जाबोध भयो । तर अर्को कोणबाट सोच्दा बाबुको मेरो राजनीतिक कार्यप्रतिको चिन्ता र चासोले म खुसी पनि भएँ ।

राजनीतिक यात्राको दौरानमा कस्ता खालको अप्ठ्यारो परिस्थिति र सरकारी तथा अन्य दमन बेहोर्नुभयो ?
राजनीतिक यात्राको दौरान मैले थुप्रै अप्ठ्याराको सामना गरेको छु । थुप्रै पटक ममाथि प्रशासनले मुद्दा लगाएर जेलचलान गरेको छ । प्रतिगमन विरुद्ध आन्दोलनको दौरान मात्र मलाई विभिन्न जिल्लामा चार पटक गिरफ्तार गरी जेलचलान गरिएको थियो । काठमाडौँ, डोटी, कैलाली तथा कञ्चनपुरमा शान्तिसुरक्षा कानुनअन्तर्गत पक्राउ परी जेलचलान भएको थिएँ । माओवादीहरूले डोटीमा कैयौँ पटक धम्क्याउने तथा दैलेखमा त साङ्घातिक आक्रमण गरी गम्भीर घाइतेसमेत बनाएका थिए । कांग्रेसी गुण्डाहरूले गरेको आक्रमणका विरुद्ध पनि विभिन्न समयमा भौतिक रूपले सामना गर्नुपरेको थियो ।

चौथो राष्ट्रिय सम्मेलनले राष्ट्रिय जनमोर्चाको के कस्ता नीति तथा कार्यक्रम पारित गरेको छ ?
हामीले चौथो राष्ट्रिय सम्मेलनको मुख्य नारा गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ, भ्रष्टाचारका विरुद्ध संघर्ष गरौँ भन्ने तय गरेका थियौँ । यो नाराले देशको समग्र राजनीतिलाई अभिव्यक्त गरेको छ । गणतन्त्र स्थापना भएको झण्डै १२ वर्ष पूरा हँुदै छ । गणतन्त्र विरोधी अर्थात् राजावादी शक्तिबाट त गणतन्त्रमाथि आक्रमण भई नै रहेको थियो । तर स्वयम् गणतन्त्रवादी शासकका गलत नीति र कुशासनको परिणाम गणतन्त्र स्थापना भएको यति छोटो अवधिमा नै जनताको यो व्यवस्थाप्रति तीव्र असन्तोष फैलिएको छ । जनताको असन्तोष यो व्यवस्थाको विकल्प खोज्ने तहसम्म पुगेको छ । यदि देशभित्र क्रान्तिकारी शक्तिहरूको स्थिति बलियो भएको भए यो व्यवस्थाको विकल्पमा उच्चस्तरको जनवादीको व्यवस्था मागको कार्यनीतिलाई अगाडि सार्नु वस्तुनिष्ठ हुन जान्थ्यो । त्यसबाट पछाडि हट्नु दक्षिणपन्थी अवसरवाद हुन्थ्यो । तर अहिलेको स्थितिमा क्रान्तिकारीको त कुरै छाडौँ, पुँजीवादीसमेत जनताका बिच बद्नाम छन् र कमजोर भएका छन् । यस्तो अवस्था यो व्यवस्थाको विकल्प खोज्दा अग्रगमन नभएर प्रतिगमनलाई मद्दत पुग्ने खतरा छ । त्यसैले हाम्रो काँधमाथि दुई वटा जिम्मेवारी छन् : प्रथम– विश्व अनुभवले यो कुरा सिद्ध गरिसकेको छ कि विद्यमान बुर्जुवा गणतन्त्रले जनताका आधारभूत समस्या समाधान गर्न सक्दैन । त्यसका लागि योभन्दा उच्चस्तरको जनवादी व्यवस्थाको आवश्यकता पर्दछ । त्यस खालको जनवादी व्यवस्था सशस्त्र युद्धद्वारा मात्र प्राप्त हुन सक्दछ । त्यो अवस्था निर्माण गर्नका लागि हामीले त्यसको पक्षमा प्रचार प्रसार तथा जनाधार तयार पार्दै जानुपर्दछ । द्वितीय–राजावादीहरूले यो व्यवस्था निषेध गरेर देशलाई प्रतिगमनतर्फ लैजाने प्रयत्नका विरुद्ध सङ्घर्ष गर्नुपर्छ । तत्कालका लागि गणतन्त्रमाथि खतरा देखिएकाले गणतन्त्रको रक्षाको प्रश्न वर्तमानको सही र क्रान्तिकारी कार्यनीति हुन जान्छ । त्यसैले चौथो राष्ट्रिय सम्मेलन यो कार्यनीतिलाई अगाडि सारेको छ ।

देशमा अहिले उत्पन्न अन्यौलपूर्ण र अस्थिर राजनीतिक स्थिति उत्पन्न हुनुमा मुख्य रूपले ओलीको स्वेच्छाचारी, तानाशाही तथा पदलोलुप चरित्र जिम्मेवार छ । ओलीले आफ्नो पदको संरक्षणका लागि जनताका सम्पूर्ण प्रजातान्त्रिक अधिकारमाथि कुठाराघात गरेर संसद भङ्ग गर्ने कदम उठाए । आफ्नै पार्टीलाई टुक्राएका छन् । पुनस्र्थापित संसदलाई पुनः भंग गरेर देशलाई मध्यावधिमा लैजान वा यसै सरकारलाई टिकाइराख्ने खेलमा लागेका छन् । ओली भारतीय साम्राज्यवादको आडमा यी सबै काम गरिरहेका छन् । भारतले ओलीलाई दिएको आडको बदलामा भारतीय साम्राज्यवादले नेपालमाथि आफ्नो स्वार्थ लाद्ने कुरा पनि निश्चित छ । त्यसैले गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि ओलीले राजीनामा दिनुपर्छ । सरकार सञ्चालनका लागि वामपन्थीसँग प्रष्ट बहुमत भएका कारण वामपन्थीको सरकार बन्नुपर्दछ भनेर सम्मेलनले जोड दिएको छ ।

देशको राष्ट्रियता गम्भीर खतरामा परेको छ । यो खतरा मुख्यतया भारतीय साम्राज्यवादका कारण उत्पन्न भएको छ । ओली सरकारले एमसीसीअन्तर्गतको सहयोग लिने नाममा नेपाललाई चीन विरुद्धको अमेरिकी गठबन्धनमा सामेल गर्नका लागि लगातार प्रयत्न भइरहेको छ । यद्यपि हाम्रो पार्टीसहितका देशभक्त शक्तिको लगातार त्यस विरुद्ध सङ्घर्षले एमसिसीलाई पारित गर्न सरकारले सकिरहेको छैन । आर्थिक सहयोगको लोभमा एमसीसी पारित गरिएमा त्यसले नेपाललाई शक्तिराष्ट्रको क्रिडास्थल बनाउने छन् । भारतबाट नेपालका विभिन्न ठाउँमा भएको सीमा अतिक्रमण, कालापानी कब्जा गरेर बसेको भारतीय सेनाको फिर्ती तथा नेपाल–भारत सीमाक्षेत्रमा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन वा पालना गरेर बनाइएका अवैध बाँध भत्काउन संघर्षमा जोड दिएको छ ।

नेपालका लागि संघीयता विघटनकारी रहेको छ । त्यसका साथै संघीयताले आर्थिक बोझसमेत थपेको छ । हाम्रोजस्तो गरिब तथा पिछडिएको मुलुकका लागि सङ्घीयताको खर्च धान्न मुश्किल पर्ने छ र परिरहेको पनि छ । आ.व. २०७७-७८ को बजेटमा प्रदेशका लागि कुल बजेटको १७ प्रतिशत रकम विनियोजन गर्नुपरेको छ । सात वटै प्रदेशले प्रस्तावित गरेको बजेटको कुल २ खर्ब ६४ अर्ब २० करोड रहेको छ । केन्द्रबाट गएको यति ठुलो रकमबाट १ खर्ब १६ अर्ब १ करोड ४१ लाख ९७ हजार रुपियाँ प्रशासनिक खर्चका लागि प्रदेशले विनियोजन गरेको छ । प्रशासनिक खर्चका लागि यति ठुलो रकम खर्च हुनुबाट पनि प्रदेशको संरचना केही थान सांसद, मन्त्रीलाई भत्ता ख्वाउन मात्र निर्माण गरिएको प्रष्ट छ । सङ्घीयता देशको राष्ट्रियता तथा सार्वभौमिकताका लागि घातक छ । त्यसैले संघीयताको खारेजीका लागि संघर्ष गर्नुपर्ने आवश्यकतामाथि सम्मेलनले जोड दिएको छ ।

धर्म निरपेक्षतामाथि विभिन्न उद्देश्यप्राप्तिका लागि भिन्दाभिन्दै कोणबाट प्रहार भइरहेको छ । राजा शासनको पुनस्र्थापनाका लागि हिन्दुवादीले र साम्राज्यवादी स्वार्थ पूरा गर्न पश्चिमा शक्तिले क्रिस्चियानिटीको आडमा धर्म निरपेक्षतामाथि प्रहार गरिरहेका छन् । धर्म निरपेक्षताको रक्षाका लागि संघर्ष गर्नुपर्ने आवश्यकतामा सम्मेलनले जोड दिएको छ ।

भ्रष्टाचार र दण्डहीनता आज देशको मुख्य समस्या बनेका छन् । दण्डहीनताको परिणाम रेशम चौधरीजस्तो हत्यामा अदालतद्वारा सजाय पाएको व्यक्तिलाई सजाय मिनाह गराउन कार्यपालिका नै लागिपर्नुले कानुनी राज्यको उपहास भएको छ । अमेरिकी साम्राज्यवाद नै विश्व मानवजातिको मुख्य सत्रु हो । त्यसैले अमेरिकी साम्राज्यवाद र उत्पीडित राष्ट्रबिचको अन्तरविरोध नै आजको विश्वको मुख्य अन्तरविरोध हो भनेर सम्मेलनले विश्लेषण गरेको छ ।

नेपालको संसदीय राजनीतिमा समेत विकृति–विसंगति देखिइरहेका बेला राजमोले आफ्ना सदस्यका लागि आचार संहिता बनाउँदै रहेछ । के कस्ता विषय समेटिएका छन्, त्यो आचार संहितामा ?
हो राजमोले आफ्ना सदस्यका लागि आचार संहिता बनाउने भनेर विधानतः व्यवस्था गरेको छ । राष्ट्रिय जनमोर्चाको विधानले सदस्यको काम, कर्तव्य, अधिकार तोकेको छ । सदस्यको काम, कर्तव्य, अधिकारभित्र पनि कतिपय आचार, विचारसँग जोडिएका व्यवस्था पनि छन् । जस्तै– संगठनको अडान, भावना र नीतिअनुकूल आफूलाई अघि बढाउनुको साथै जनताको हितको पक्षमा संघर्षरत रहनु र सेवा गर्नु । पुरानो समाजको कलुषित, रूढीवादी र गलत विचारधारालाई हटाउन प्रयत्न गर्नु, मनोगतवाद, उदारवाद तथा विभिन्न खाले अवसरवादको विरोध गर्नु । खराब कामका विरुद्ध लड्ने दृढता प्रकट गर्नु र सामन्ती तथा पुँजीवादी मूल्यमान्यता विरुद्ध सङ्घर्ष गर्दै श्रमजीवी नैतिक मूल्यमान्यताद्वारा समृद्ध बन्न प्रयास गर्नु । महिला र पुरुषबिच भेदभाव गरिने सामन्ती संस्कार समाप्त पार्न प्रयत्नरत रहनु । महिलालाई पुरुषसरह समानअधिकार दिलाउन प्रयत्न गर्नु । सबै प्रकारका सामन्ती प्रचलन, कुरीति, अन्धविश्वास र छुवाछूत प्रथालाई समाप्त गर्न प्रयत्नरत रहनु रहेका छन् अर्थात् वैज्ञानिक विश्वदृष्टिकोणउन्मुख आचारविचारतर्फ आफ्ना सदस्यलाई अग्रसर बनाउन आचार संहिता बन्ने छ ।

अन्य राजनीतिक पार्टीका जनप्रतिनिधिको तुलनामा राष्ट्रिय जनमोर्चाका जनप्रतिनिधिको भूमिका केही फरक छ भन्न सकिन्छ ? त्यस्ता फरक भूमिका के छन् ?
प्रतिनिधि सभा, प्रदेशसभा तथा स्थानीय पालिकामा हाम्रा जनप्रतिनिधिको उपस्थिति ज्यादै कमजोर छ । प्रतिनिधि सभामा एक, लुम्बिनी प्रदेशमा एक तथा गण्डकीमा तीन जना सदस्यले मात्र प्रतिनिधित्व गर्नुहुन्छ । पालिकामा पनि हाम्रो पार्टीले सीमित स्थानमा मात्र चुनाव जितेको थियो । स्थानीय विकासका लागि जनप्रतिनिधिले थुप्रै पहलकदमी गरिरहेका छन् । कतिपय स्थानमा स्वपहलकदमीबाट विकासको काम अगाडि बढाइएको छ । तर मूल रूपमा विकासका लागि सरकारमाथि भर पर्नुपर्ने बाध्यता छ । केन्द्रीय वा प्रादेशिक सरकारमा हामी छैनौँ । हाम्रा जनप्रतिनिधिले माँग वा सिफारिस गरेका योजनामा सरकारबाट हदैसम्मको विभेद हुने गरेको छ । कतिपय पालिकामा हाम्रो नेतृत्वमा नभएकाले पालिकाले हामी विजय भएका वडामा बजेट उपलब्ध गराउन चर्को विभेद गर्ने गरेको छ । स्थानीय जनताको विकास निर्माणको कामलाई अगाडि बढाउन समस्या छन् । तर पनि विभिन्न अवरोधका बाबजुद पनि त्यसलाई केही हदसम्म भए पनि अगाडि बढाउने काम भएको छ । विकास निर्माणका लागि आएको रकम पारदर्शी तवरले खर्च गरिएको छ । हाम्रा जनप्रतिनिधि स्वार्थ समूहसँग मिलेर वा साँठगाँठ गरेर आर्थिक लाभ लिएका छैनन् । भ्रष्टाचारबाट मुक्त भएर काम गरेका छन् । कुनै जनप्रतिनिधिले जनताका हित विपरीत काम गरेको पाइएमा पार्टीले आन्तरिक तथा बाह्य अनुशासनको कारबाही गर्ने गरेको पनि छ । कतिपय जनप्रतिनिधिको निर्वाचित पद नै पनि खालि गर्नेसम्मका कारबाही गरिएका छन् ।

देशका विभिन्न जनवर्ग तथा पेसागत तहतप्काको समस्यालाई राष्ट्रिय जनमोर्चाले वैधानिक तबरले उठाउने सन्दर्भमा तपाईंको भूमिका कसरी बहन भइरहेको छ ?
संगठनको सञ्चालन सामूहिक छलफल र व्यक्तिगत जिम्मेवारीको आधार हुने गर्दछ । मेरो भूमिका पनि त्यही आधारमा नै निर्धारण हुन्छ ।

देशको वर्तमान राजनीतिक परिस्थितिलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?
मुलुकको वर्तमान राजनीतिक परिस्थिति जटिल प्रकारको छ । जनताको आन्दोलन र संविधानमा बहुमतप्राप्त प्रधानमन्त्रीलाई संसद भङ्ग गर्ने कुनै संवैधानिक व्यवस्था नभएका कारण सर्वोच्च अदालतद्वारा संसदको पुनस्र्थापना भएको छ । तर प्रधानमन्त्रीले संसदलाई कुनै बिजनेस (काम) नदिई ठप्प पारेका छन् । ओलीले अहिलेसम्म नैतिकताको आधारमा राजीनामा दिएका छैनन् । सरकारलाई दिएको समर्थन माओवादी–केन्द्रले औपचारिक रूपमा फिर्ता लिन सकिरहेको छैन । समर्थन लिने विषयमा पनि केही संवैधानिक तथा राजनीतिक जटिलता देखिएका छन् । अविश्वासको पक्षमा आउने शक्तिहरूको यकिन गरेर मात्र पुग्दैन, बहुमत पु¥याउनुपर्ने हुन्छ । अविश्वासको प्रस्ताव पेस गर्ने तर त्यसको पक्षमा बहुमत पुगेन र फेल भयो भने अर्को एक वर्षसम्मका लागि अविश्वासको प्रस्ताव दर्ता गर्न नपाउने संवैधानिक व्यवस्था छ । त्यसो भयो भने सरकारको आयु संवैधानिक तबरले झन् लम्बिने छ । अविश्वासको प्रस्ताव पारित हुने तर दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन सक्ने स्थिति बन्न सकेन भने संसदभित्रका सबैभन्दा ठुलो (लार्जेस्ट) पार्टीको हैसियतले सरकार बनाउने मौका संवैधानिक रूपले ओलीले नै पाउने सम्भावना पनि पैदा हुन सक्छ ।

माओवादीले समर्थन फिर्ता लिएर सरकार अल्पमतमा प¥यो भने ओलीले राजीनामा दिएर संसद भंग गर्ने र मध्यावधिका घोषणा पनि गर्न सक्ने खतरा छ । मधेसवादीभित्र बाबुराम पनि प्रधानमन्त्रीको दौडमा रहेकोजस्ता देखिन्छन् । उनी अगाडि आउने स्थिति बनेमा महन्थ ठाकुर पक्षले ओलीलाई नै समर्थन गर्ने वा माओवादी तथा कांग्रेस मिलेर ओलीका विरुद्ध आउने स्थिति बनेमा ओलीले महन्थ ठाकुरलाई नै प्रधानमन्त्री बनाएर जाने खतरा पनि त्यत्तिकै छ । त्यसैले देशको राजनीति कुन दिशामा अगाडि जाने हो ? यकिनका साथ भन्न गाह्रो छ । तर त्यसले जनताका प्रजातान्त्रिक अधिकार र राष्ट्रियतामा गम्भीर आँच आउने निश्चित छ । त्यो स्थिति आउन नदिन नै हामीले ओलीले राजीनामा दिनुपर्दछ तथा वामपन्थीका बिच सरकारको गठन हुनुुपर्दछ भन्ने मान्यता अगाडि सारेका छौँ ।

सर्वोच्च अदालतको फैसलापछि देशमा उत्पन्न राजनीतिक अस्थिरताको निकास के हुनुपर्दछ भन्ने लाग्दछ यहाँलाई ?
रिट निवेदकले मागदाबी नगरेको विषयमा सर्वोच्च अदालतले प्रवेश गरेर अदालतप्रति अनास्था पैदा गराउने काम गरेको छ । अदालतले तत्कालीन माओवादी–केन्द्र र एमालेबिच भएको एकीकरणलाई बदर गरी उनीहरूलाई पूर्ववत अवस्थामा पु¥याइदिएको छ । त्यसको परिणाम नेकपा विधिवतः रूपमा विभाजन भएको छ । विभाजनका कारण पार्टीभित्रको ओलीको स्वेच्छाचारी तथा अधिनायकवादी प्रवृत्ति विरुद्धको शक्ति बाँडिएको छ । एमालेभित्र भएको ओली विरुद्धको माधव नेपाल समूह रक्षात्मक अवस्थामा पुगेका छन् । ओली विरुद्ध गएर संसदबाट नेपाल पक्षले कुनै भूमिका खेल्न सक्ने अवस्था छैन । ओली थप निरङ्कुश बनेका छन् । देश र जनता जतासुकै जाउन्, उनलाई त्यसको मतलब छैन । आफ्नो व्यक्तिगत स्वार्थका लागि ओलीले जुनसुकै कदम पनि उठाउन सक्ने खतरा छ । त्यसैले ओलीका विरुद्धको संघर्षमा हामीले जोड दिएका छौँ । यो स्थितिमा निकास के हुन सक्दछ भन्ने विषयमा माथि सोधिएका प्रश्नमा जवाफ आइसकेको छ । त्यसलाई दोहो-याइराख्नुपरेन ।

अन्तमा, युगदर्शनमार्फत सम्प्रेषण गर्नुपर्ने केही विषयहरू छन् कि ?
युगदर्शनले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षाका लागि, संघीयताको खारेजीका तथा भ्रष्टाचारका विरुद्धको सङ्घर्षमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । सही विचारलाई लगातार सम्प्रेषण गरिरहेको छ । आगामी दिनमा पनि युगदर्शनको यो यात्राले निरन्तरता पाओस् भन्ने शुभकामना दिन चाहन्छु ।

(अन्तर्वार्ताः प्रकाश थापा) www.yugdarshan.com वाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *